उभिएर किनारामा
प्रशान्त महासागरको
सोच्दैछु म यतिबेला
कति दुख्दो हो कठै !
छाती महासागरको
उस्तै उस्तै होला कि
मेरो छाती र
छाती महासागरको
ओर्लिएर सगरमाथाबाट
प्रशान्तको यो किनारामा
छातीभित्रको दुखाई बिसाउन
यहाँसम्म म आएझैं
महासागर पनि पुगेको होला
धर्तीको अनेक कुनामा
छाल बनेर दुखाई बिसाउन
के के मात्र दुख्दो हो कुन्नि
महासागरको छातीमा
अज्ञानी म बुझ्न सक्दिन
या स्वार्थी म बुझ्नै चाहन्न
मात्र आफ्नो छातीमा
सबैथोक दुखेको बुझ्दछु म
कैले सुन्दर विचारहरु माझ
आफ्नै विचार दुख्छु म
कैले अनेक मुहार माझ
आफ्नै अनुहार दुख्छु
कतै बैसाखको आँधीले
उडाएको छानो दुख्छु म
कतै भदौको अनिकालले
रित्याएको मानो दुख्छु म
म भोक दुख्छु
म रोग दुख्छु
किन होला ?
जति दुख्नु पर्ने यहि छातीमा दुख्नुपर्ने ?
कैले आफ्नै थातथलोमा
मिचिएको साँध दुख्छु म
कैले देशै डुबुञ्जेल
बाँधिएको बाँध दुख्छु म
कैले बर्षौं पिछडिएको
समाजको जमाना दुख्छु म
कैले जंगे पिलर ढालिएको
राष्ट्रको सिमाना दुख्छु म
म देश दुख्छु
म परदेश दुख्छु
साँच्चै यो छाती माझ
दुख्नु नदुख्नु दुख्छु म
कतै बुद्धको दिब्य ज्ञान दुख्छु
कतै आफन्तको चिहान दुख्छु
महासागर पनि यति धेरै
खै के दुखेको होला र ?
यहि छाती भित्र
हरेक नेपालीको ओठमा सुनिने
शान्तीको जपना दुख्छु म
हरेक नेपालीको आँखामा बुनिने
नयाँ नेपालको सपना दुख्छु म ।
No comments:
Post a Comment