रंगभित्रको रंगमा म

एक तमास त्यही गल्लीबिच
खाली पैताला र नांगो आङ्ग लिई
रंगिएर भोलीको स्वपनिल रंगहरुमा
लखर लखर हिंडीरहेथें म
यस्तो उजाड
यति फिक्का
यति निरस
यस्तो बेस्वाद
कहाँ थियो र मेरो भोलीको रंग
गल्लीमा थुप्रिएको फोहोर थिएन
व्यवस्थित सहर
फराकिलो सडक
प्रयाप्त हरियाली
मेरो भोली नांगो आङ्गहरुको
र खाली पैतालाहरुको स्वर्ग थियो
संगै कोही ठाँटीएर
सफा पहिरनमा
रंगदेखि भाग्दैथिए
कोही तिन्को पहिरनमा
रंग छ्याप्दैथिए
कोही भाग्ने कोही लखेट्ने
हुलहरु माझ म
आफ्नै रंगहरुमा भोली भेट्न हिंड्दैथिएं
छ्याप्नेहरुको रंगले भिजेको
मलाई देखेर एकहुल मान्छेहरु हाँसे
निलो , रातो , हरियो , पंहेलो
मेरो अनुहारमा रंगभित्रको भोलीको रंग
तिनले देखेनन सायद
तिनिहरु एकतमास हाँसीरहे
त्यो होलीको दिन थियो ।

No comments: