खै मेरो घर ?

आज पनि एउटा दिन गलेर गयो
बिहानको उमंग
दिन छिप्पिन नपाउंदै शिथिल भएको
मैले आफ्नै आँखाले देखें
बेलुकी सम्ममा थाकेर लत्र्याकलुत्रुक
म आफ्नै मनको आँगनमा निस्किएं
मनकै आँगनको डिलमा थचक्क बसें
पछाडी फर्केर हम्केरा हाल्दै बलेंसी हेरें
अझै छन त्याँहा
बलेंसीमा बगेका रगतका टाटाहरु
कैले यो मन खुर्कीखार्की पारेर
फाल्नु रगतका ति टाटाहरु
र सफा पार्नु यो मनको घर आँगन ?
खुईय ! सुस्केरा काढेर घर हेरें
अहँ छैन मेरो घर
अझै नियाँलेर हेरें
देखिनं कतै मेरो मनको घर
यो रातको निश्पट्ट अंधकारले
घ्वाप्पै छोपेको हो कि
साँच्चै हराएको हो मेरो मनको घर ?
भाउन्न छुट्यो मलाई
अहो ! मेरो घर साँच्चै हरायो
जुरुक्क उठें
आँखा अगाडी तिर्मिर तिर्मिर
ताराहरु झिल्किए
के ले के ले मलाई फन्फनी घुमायो
हैन म ढल्दिनं
ढल्नु हुंदैन मैले
आँखै सामु हेर्दाहेर्दै हराएको
मेरो घर खोज्नु छ मैले
खै मेरो घर ?

No comments: