एकदिन ,
थाहा छैन खै कसरी
यौटा सानो भँगेरा
थुनिएछ मेरो कोठाभित्र
जव म थकित मन अनि
शरिर लिएर कोठाभित्र छिरें
मानौं कि उसको अगाडी
मृत्यु हाजिर भयो
भयले मृत्युको उ
यो कुना र त्यो कुना
ज्यान बचाउन उडिरहयो
विवस उसको
उम्कने कुनै बाटो थिएन
बन्द थिए कोठाका झ्याल अनि ढोका
उसको विवसताको फाईदा उठाउंदै
ओच्छ्यानमा पल्टिएर मैले
उसको भयमाथी आनन्द मानिरहें
छट्पटाएर उ उडिरहयो
यो छेउ र उ कुना
अनायास म मा विचार उठ्यो
उसलाई पिंजडामा कैद गर्ने
र मेरो एक्लोपनाको साथी बनाउने
उसको लाचारीको फाईदा लिंदै
नियन्त्रणमा लिएं मैले उसलाई
र आफ्नो हातको कला झिक्दै
निर्माण गरी यौटा सानो पिंजडा
प्रकृति प्रद्दत उसको स्वाधिनता खोसेर
कैद गरें उसलाई पिंजडा भित्र
स्वाधिनता गुमाएको एक कैदी
पिंजडाभित्र संधै रोईरहन्थ्यो उ
मुक्ती याचित उसको बेदना
भाषामा बुझ्न नसके पनि
मैले महसुस गरें
लाग्थ्यो हरपल उसले मलाई
अनुनय गर्छ केवल
मुक्तीको लागी रोई रोई
अन्तत उसलाई
मुक्ती दिने निर्णय बोकेर
म उ छेउ गएं
जव मैले पिंजडालाई स्पर्श गरें
तव लाग्यो अरु केहि क्षण यसलाई
अझै आफ्नो साथी किन नबनाउं
पिंजडाबाट मुक्ती दिनुको शट्टा
पिंजडा सहित उसलाई मैले
बगैंचामा लगें
र झुण्ड्याएर सानो बुट्टामा
तमाशा हेरिरहें उसको
केहि पर बसेर
विचरा ! त्यो सानो चरा
पिंजडा बाहिर टाउको झिकेर
गुहार माग्दै चिच्याउंदै थियो
हठात यौटा कागले आक्रमण गरि
मेरै उपस्थितीमा
उसको शिर छिनालेर लग्यो
पिंजडाभित्र लडेको
उसको शिरोच्छेदित शरिर हेर्न
अब म उ नजिक जानु नजानुको
त्याँहा कुनै अर्थ थिएन
मलाई घोर ग्लानिले तत्काल गलाईदियो
र थचक्क बसें
मैले गर्नु पनि के थियो र ?
आफैं हत्यारा भएर पनि
उसको हत्याको मलाई सजाय थिएन
दोषी मन बोकेर सजाय स्वरुप मैले
उसको शिर विहिन शरिरको समाधि बनाई
साँसारिक बन्धनबाट मुक्ती दिंदै
एक अञ्जुली फूल अर्पण गरें ।
No comments:
Post a Comment