दशैं , नेताज्यू र हामी

ओ नेता ज्यू ,
एक फेर एता सुन
हामी जनता हौं
त्यही गरिव जनता
जस्को निंती तिमी युद्ध लड्दैछौ
हामी र हामी जस्तैको उत्थान गर्न
तिमीले लडेको युद्धले
हेर आज हामी विस्थापित भएका छौं
आफ्नै मुलुक भित्र घरबार विहिन भई
आन्तरिक शरणार्थी बनेका छौं
तिमीले टेक्यौ हाम्रो छातीमा
र हाम्रो घरबास खरानी बनाई
आफु भब्य महलमा पुग्यौ
के देख्छौ तिमी आज हामीलाई ?
हेर त आज
हामी कतै बाँसको झाँगमुनी
पाल टाँगेर बसेका छौं
कतै स्कुलको छानोमुनी
छाक मागेर बसेका छौं
सँघारमा दशैं आएको छ
बडा दशैंको शुभ अवसरमा
फेरी तिमी हाम्रै नाममा
विज्ञप्ति निकाल्नेछौ
र सर्व साधारणको सुबिधाको लागी
बन्द फिर्ताको नाटक गर्नेछौ
युद्धविरामको छल गर्नेछौ
ओ नेता ज्यू ,
एक फेर हामीलाई भन
तिम्रो सर्व साधारण को को हुन ?
कस्को लागी तिमी युद्ध शुरु गर्छौ ?
कस्को लागी तिमी युद्ध विराम गर्छौ ?
तिम्रो एक बोलीले
यातयात बन्द हुन्छ
तिम्रो एक बोलीले
ब्यापार बन्द हुन्छ
सारा देश ठप्प हुने तिम्रो एक बोलीले
हुँदा हुँदा लौ हेर आज हाम्रो गाँस बन्द छ
ओ नेता ज्यू ,
सबकुरा रोक्न सक्ने सामर्थ्य छ तिम्रो
हाम्रै खातिर चलिरहेको शान्ती वार्ता रोक्न सक्छौ तिमी
हाम्रै खातिर हुनेभनेको संविधान सभा रोक्न सक्छौ तिमी
ओ नेता ज्यू ,
साँच्चै रोक्न सक्छौ भने
संघारमा आएको यो दशैं रोकिदेउ
बर्षौं देखि हामीले चाहेको
संबिधान सभा आउन नसक्ने देशमा
बर्षै पिच्छे यो दशैं किन आउंछ ?
आफन्तहरु सब गुमाएर
थातबास सब लुटाएर
देशभित्रै शरणार्थी बनेको बेला
हामीसंग दशैं मनाउने गच्छे छैन
संविधान सभा रोक्ने ओ नेता ज्यू ,
लौ यसपाली यो दशैं रोकिदेउ ।

No comments: