उचाई

सानै देखि हल्लक्कै बढेको
उसको शारिरिक उचाई
उसैको आफ्नालाई बिझायो
आफ्नैले उसलाई होच्याउन
सानो दर्जा दिए
आफन्तले दिएको सानो दर्जा
उसलाई बिझायो
बिझेको मनले गमेर उसले
आफ्नाहरुलाई अवलोकन गर्यो
देख्यो उसलाई होच्याउने आफ्नाहरु सबै
फल लाग्ने रुख भए
सबै निहुरिने ,
सँधै निहुरिने
उसलाई त्यो पनि बिझायो
सोच्यो
म निहुरिनु हुँदैन
सानैदेखि उ बेग्लै भयो
आफ्नाहरुलाई जित्ने अठोट गरेर उ
फल नलाग्ने रुख भयो
निहुरिनु परेन उस्लाई कहिल्यै
आफ्नाको अगाडी निहुरिएन उ
परायाको अगाडी निहुरिएन
केवल अग्लिन जान्यो उस्ले
कहिँ नझुकि कसैसंग ननिहुरिई
आफ्नो उचाई कायम राख्यो
अग्लिएरै सर्वोच्चता पायो उसले
अग्लिएरै सगरमाथा भयो आज
आफ्नाहरुले भने
अब अग्लिने ठाउँ छैन
आज परायहरुले भने
अब छुनलाई कुनै उचाई छैन
तर उसले आफ्नाहरुलाई सुनेन
परायाहरुलाई गनेन
र अग्लिंदैछ अझै
आफ्नो उचाईको हद नाघेर ।

No comments: