जिन्दगी बाँच्न किन सकिंदैन ?

सत्य - सत्य
मैले कहिल्यै घोत्लिएर
जिन्दगीलाई केलाईंन
जिन्दगी दुख्दा
रोईदिएं एकैछिन
जिन्दगी फुल्दा
हाँसीदिएं एकैछिन
प्रत्येक पल्ट मैले देख्दा
जिन्दगी आफैं सरल रेखामा थियो
मेरो पनि तिम्रो पनि
आफैं निर्माण गरेर बिन्दुहरु
पटक पटक रोकेर पाईलाहरु
तिमीले हात उठाएको देखें
भन्यौ अब जिन्दगी बाँच्न सकिन्न भो
घुर्की पनि जिन्दगीसंग लगाईन्छ र ?
त्यती बिघ्न मात्राहरु छाडेर
वाक्य नटुङ्ग्याई पुर्ण विराम कोरेर
तिमीले घुँडा टेकेको देखें
भन्यौ अब संतोष हाँस्न सकिन्न भो
हार आफ्नै जिन्दगीसंग खाईन्छ र ?
एकैछिन घोत्लिएर
तिमीले चिनाएको सगरमाथा
तिम्रै छातीमा खोजीहेरें
अहँ छैन तिम्रो छातीभित्र
सगरमाथा कतै छैन
कन्काईले काटेर हरिया खेतहरु
रतुवाले पुरेर मलिला फाँटहरु
कहिले देखि उजाड बगर पाल्यौ छातीभित्र ?
तिमीले चिनाएको सगरमाथा बोकेर
छातीभित्र म अझै पनि
कञ्चनजंघाहरु आरोहण गर्दैछु जिन्दगीमा
जिन्दगी कुनै शिशीको बिर्को भैदिए
अरुले नै लेखिदिने थिए
समस्याहरु खोल्न दाँया घुमाउनुहोस
बन्द पत्र पनि त हैन जिन्दगी
जस्लाई पढ्न लेखिएको होस य
हाँबाट च्यात्नुहोस
यस्तै सरल सत्यहरु
खै त बुझेको जिन्दगीमा ?
तिम्रो छातीमा सगरमाथा फेरी उठ्नुपर्छ
त्यही सगरमाथा छामेर छातीभित्र
सल्बलाउनु पर्छ तिमी
चल्मलाउनु पर्छ तिमी
जिन्दगी बाँच्न किन सकिंदैन ?

No comments: