न सपनाको थुप्रो छ कतै
बोक्नु पर्ने
न चाहनाको पोकापन्तुरा
बिसाउनु पर्ने
सतह देख्न सकिने
सङ्लो पानी जस्तै
अबोध मुहारको मुस्कान
मान्छेहरुले कहाँ पढ्न सके खै ?
हत्केला फिँजाएर आँखा अगाडी
हस्तरेखा पढिरहेका मान्छेहरु
निचोरेर मानवताको मुटुकलेजो
हत्केला रंगाउन अभ्यस्त मान्छेहरु
आउ
आज यौटा अबोध हत्केलामा
मेहन्दीले खिचिएको
शुभ प्रभात पढेर जाउ
तिम्रा सबल हातहरुले
भोली यौटा अबोध मुहारमा
छचल्किने मुस्कान
सुम्सुम्याउन सक्छ कि ?
[माई संसारमा शनिबार साहित्य अन्तर्गत औपचारिक रुपमा शुरु भएको तस्विरमाथी कविता लेख्ने चुनौति अन्तर्गतको ब्लग पोष्टमा लेखिएको कविता । ]
No comments:
Post a Comment