यौटा रित्तो होर्डिङ बोर्ड : उज्यालो खोज्नेहरुको पर्याय


म तिम्रो सहरमा ठड्याईएको
खाली होर्डिङ बोर्ड बाँचिरहेछु
आउँदा जाँदा तिमीले
संधै मलाई रित्तो देख्यौ
थकित तिम्रो मश्तिष्कले रित्तो देख्ने
आकास जस्तै म पनि रित्तो छैन
ताराहरुको झिलिमिली बगैंचामा
पुर्ण चन्द्रमा फुलाएझैं आकाशले
तिमी सक्छौ म भित्र भोली
तिम्रो सुन्दर भविश्य फुलाउन
म चुनौति बाँचेको छु तिमीलाई
के सक्छौ तिमी
अहिल्यै तिम्रा पौरखी हातहरु उठाउन ?
के सक्छौ तिमी
खाली खाली मेरो छातीभित्र उज्यालो लेख्न ?
सँधै उज्यालोको भ्रममा तिमी
म भरी रंगहरु जथाभावी पोतेर
परपरै मस्किँदै हिंड्छौ
आज हेर लौ
म तिमीले मनपरी पोतेको रंग धोएर
कुरुप बाँचेको छु
मेरो आफ्नै नियति हैन मैले बाँचेको
के बुझ्न सक्छौ मलाई ?
म प्रतिक बनाएर आफुलाई
तिम्रै नियति बाँचेको छु
आउ स्वागत छ तिमीलाई
एक अञ्जुली उज्यालो बोकेर
पोत मेरो मुहारमा
र मुस्कान छर तिमी आफ्नै ओठमा
मेरो खाली अनुहार
मेरो रित्तो शरिर
मेरो खुल्ला छाती
पर्याय हो
नयाँ युगको संघारमा उभिएर
एक अञ्जुली उज्यालो खोज्नेहरुको ।
[ माई संसारमा अनौपचारिक चुनौति स्विकारेर तस्विरमाथी लेखिएको कविता ]

No comments: