तारा खसेको रातमा

सानै छंदा मैले देखेको छु
आकाशबाट तारा खसेको
आमाको न्यानो काखमा बसेर
आकाशमा हिंडीरहेका ताराहरुलाई
साना औंलाहरुले देखाएर
आमालाई धेरै पटक सोधेको छु
आकाशमा तारा किन हिंड्छ भनेर
आकाशका देवता हुन ताराहरु
धर्तीका प्राणीको पापधर्म लेखा लगाउन
हिंड्ने गर्छन कुनै कुनै ताराहरु
आमाको सरल सत्य जवाफले
चित्त बुझ्दै गरेको बेला
अकस्मात खस्यो अर्को तारा
आकाशबाट ढुन्मुनिएर
आमाले फेरी बुझाउनु भयो
धर्म सकिएर ताराहरु
यसरी पृथ्वीमा खस्ने गर्छन
आज फेरी त्यसरीनै
आकाशबाट तारा झर्दा
भन्न मन लाग्छ आमालाई
ताराहरु देवता हैनन
जो धर्म सकिएर पृथ्वीमा झरुन
त्यो त केवल उल्का हो
तारा झर्नुको भ्रान्ती मात्र
आकाशले कहिल्यै पनि
आफ्ना ताराहरु खर्च गर्दैन
बरु पृथ्वीबाटै धर्म छाडेर
खसाईन्छ ताराहरुलाई
जसरी हाम्रो माटोबाट धर्म नसकिई
खसाईएको छ भर्खरै एकहुल ताराहरु ।

No comments: