खै कुन्नि , के हो यो माया ?

माया हुन्छ
हुन्छ भनेर नै माया हुन्छ
माया हुन्न
जब हुन्न भनिन्छ त माया हुदैन
छ भन्दा हुने माया
छैन भन्दा नहुने माया
कहाँ हुन्छ ? कस्तो हुन्छ ??
कसरी हुन्छ ???
एकछिन कसैलाई थाहा हुन्न
जब थाहा नहुनुको छटपटी हुन्छ
तब थाहा हुन्छ माया जहाँ हुन्छ
जस्तो हुन्छ र जसरी हुन्छ
बिहानको पारीजात फूल
माया हो बोट संगको
जबसम्म थप्पड खाँदैन
पातले चिसो बतासको
भुँईमा झरेपछि
तिम्रो नाँगो पाईतालामा
आफ्नो आकृतीको छाप बनाउछ त्यस्ले
अनि कसरी मान्नु
माया हुन्छ भनेर ?
तिमी मेरो माया हौ
बेहोसीमै म उचाल्छु तिमीलाई
माथी माथी अझै अग्लो पारेर
जब होस खुल्छ
आफ्नै माया म हैन
तिमी हौ आफ्नो माया
अनि छोडीदिन्छु
गगनको त्यो उचाईबाट तिमीलाई
र बजारिन्छु म आफु भुँईमा
बैंसमै झरेको पारीजात फूल भएर
तर सक्दिन कसैगरे
आफ्नो आकृतीको छाप
तिम्रो नाँगो पाईतालामा छोड्न
फेरी लाग्छ
तिमी मेरो माया हौ
र अल्मलिन्छु माया कसरी हुँ म ?
मायाकै नाम हो माया
माया न तिमी हौ
न म हुँ माया
नशाले धताएको आँखामा
मायाको पर्खाई हो माया
माया नआउञ्जेलको माया
माया आईसके पछि
माया नहुन सक्ने
अझ माया नआईपुग्दै
माया नहुन सक्ने
हुनु र नहुनुको प्रतिती जस्तो
माया नआई नै आएझैं
माया आएपनि नआएझैं
बिट मर्दै नमर्ने
मायाकै बुनाई हो माया
र बुन्न नथाल्दै बिट मर्ने
खै कुन्नि , के हो यो माया ?

No comments: