कोही सुनिदेउ मेरो पुकार

कोही सुनिदेउ मेरो पुकार
र रोकिदेउ मेरो ह्रदयका धड्कनहरु
म आफ्नै ह्रदयले गाईरहेको
अधुरो प्रितीको गीत सुन्न सक्दिंन
लगातार गाईरहेको
त्यही प्रितीको गीत
जस्लाई म आफुले गाउन सक्दिंन
कोही भनिदेउ मलाई
मेरा कर्ण विवरहरुले किन
प्रितीको सरगम सहन सक्दैनन् ?
अनियन्त्रित छ ह्रदय किन ?
जहाँ सागर भएर पनि
सदैब तुफान उठिरहन्छ
र हरेक छालको बेग संगै
फेरी फेरी उहि धून गुञ्जिरहन्छ
कोही सम्झाईदेउ मलाई
शान्त निलो त्यो अपरिमेय गगन झैं
स्निग्ध मेरो ह्रदयमा
कस्ले सल्काईदियो फेरी
प्रेमको एक मोमबत्ति
जस्ले हरक्षण आफु जलेर
मेरो ह्रदय पगालिरहेछ
पग्लिएको ह्रदयबाट
फेरी कालो धुवाँ उठेर
मेरो छाति यो ढाकिरहेछ
कोही मानिदेउ मलाई
छातिभित्रको धुवाँ फैलेर
घनघोर बादल बनेको छ
जस्को हरेक गर्जनमा फेरी
उहि धून किन बजिरहेछ ?
सक्दिंन म सहन
अधुरो प्रितीको यो निरस धून
कोही बुझिदेउ मलाई
र रोकिदेउ मेरो ह्रदयका धड्कनहरु
म सर्वत्र सन्नाटा भरिएको
यौटा अबोध ह्रदय बोकेर बाँच्न चाहन्छु
जहाँ केवल शान्ति रहन्छ
जस्लाई प्रितीले बिथोल्न सक्दैन ।

No comments: