आजभोली
तिमीले जस्तै मलाई
मेरो गीतले पनि छाडेछ
गाउँछु जब
जबर्जस्ती कुनै गीत तिम्रो यादमा
गाउँदा गाउँदै मेरो गीत
तिम्रो मृत्युसम्म पुगेर टक्क रोकिन्छ
अनि लाग्छ
म साँच्चै एक्लो भएछु ।
मायालु स्पर्स दिएर
तिमीले जतन गरेको
वाँसुरी हेर्छु
त्यसले चिच्याएर मलाई
ब्युँझाउन खोजेझैं लाग्छ
टिपेर त्यसबाट
बजाउन खोज्छु
तिमीले मनपराएको धून
बज्दाबज्दै मेरो धून
तिम्रो मृत्युसम्म पुगेर टक्क रोकिन्छ
अनि लाग्छ
म साँच्चै एक्लो भएछु ।
धेरैदिन देखि
टेवलमा खुल्लै छाडेको
कलम हेर्छु
त्यसले आन्दोलित भएर
म विरुद्द उभिएझैं लाग्छ
समाएर त्यसलाई
कोर्न थाल्छु कविता
तिम्रो यादमा
कोर्दा कोर्दै मेरो कविता
तिम्रो मृत्युसम्म पुगेर टक्क रोकिन्छ
अनि लाग्छ
म साँच्चै एक्लो भएछु ।
आजभोली
तिमीले जस्तै मलाई
मेरो जिन्दगीले पनि छाडेछ
हिंडाउंछु जब
जबर्जस्ती यस्लाई अन्त्यहिन यात्रामा
हिंड्दा हिंड्दै मेरो जिन्दगी
तिम्रो मृत्युसम्म पुगेर टक्क रोकिन्छ
अनि लाग्छ
म साँच्चै एक्लो भएछु ।
म साँच्चै एक्लो भएछु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment