नेपालको माया छ कि छैन

हे नेपाली ,
नेपाल बन्छ भने उठ
ब्युंझ अनि जाग
कसरी हुन्छ आफ्नो अधिकार माग
राम्रो मुखले माग्दा पाईन्न भने
तोडफोडमा लाग
टाउको फुटाउ त्यसको
त्यो आफ्नो बाउ नै किन नहोस
खुट्टा भाँच त्यसको
त्यो आफ्नो भाई नै किन नहोस
आगो सल्काउ
टायर बाल
सार्बजनिक सम्पतीहरु
भत्काएर फाल
घरमा सुत्केरी भाउजु
प्रसव बेदनाले छट्पटीएकि छिन
तिमी यता
हेल्थ पोष्ट र हस्पिटलमा आगो लगाउ
जेठो दाजु
मजदुरी गरेर घर आउंदैछ
तिमी उसैको खप्पर फोरेर रगत बगाउ
उचाल त्यो पानीलाललाई
उठाउ त्यो झरीलाललाई
रामे , हर्के , शिबे , ओख्रे , बेर्ने , चाउरे
सबैलाई डाक
हातहातमा लाठी देउ
भाला तिर मुङ्ग्री देउ
मरे तेहि नाथे हर्के मर्छ
घाईते भए तेहि जाबो पानीलाल हुन्छ
तर नेपाल बनाउनु छ तिमीलाई
चाउरेको छोरोको के फिक्री
शिबेकि आमाको के चिन्ता
देश त कम्तीमा तिम्रो लागी बन्छ
त्यसैले उठाउ जुधाउ
तोड फोड
हे नेपाली
नेपालको माया
तिमिलाई छ कि छैन ?
छ भने यो
दंगा फसाद छोड ।

No comments: