हेर यस्तै छु म

तिन्ले भने -
सालिग्राम जिउँन सक्छु रे म
खँदिलो भएर सिङ्गै युग
ए साथी !
साह्रै हलुङ्गो पो छु म त
सिमलको भुवा झैं
प्रत्येक बैशाखे बतासमा उड्दछु म
र उम्रिन्छु धर्तीभरी
विरुवा आशाको हुर्किएर
अर्कोसाल फेरी उड्नलाई ।
तिनले भने -
सतिसाल उभिन सक्छु रे म
ठिङ्ग भएर यौटा युग
ए साथी !
साह्रै कफलो पो छु म त
कदमको बोट झैं
प्रत्येक जेठको हुरीमा भाँचिन्छु म
र पलाउँछु सालभरी
ठुल्ठुला आशाको पात हालेर
अर्कोसाल फेरी भाँच्चिनलाई ।
तिन्ले भने -
हिमनदी हिंड्न सक्छु रे म
शान्त भएर यौटा जुनी
ए साथी !
साह्रै अधैर्य पो छु म त
खहरेको बाढि झैं
प्रत्येक असारे भेलमा उर्लिन्छु म
र बिलाउँछु सागरभरी
बाफिँदै आशाको बादल बनेर
अर्कोसाल फेरी उर्लिनलाई ।
अब बुझाईरहनु नपर्ला
बाह्रै महिनाको हिसाब तिमिलाई मैले
कुन पत्थरले बनेको देव ठान्यौ कुन्नि
मान्छे हुनुको प्रमाण जुटाउन सकिंन
म दुखेँ तर रुन जानिँन
म फूलेँ तर हाँस्न सकिँन
हेर यस्तै छु म
न तिन्ले भनेको जस्तो
न तिमीले ठानेको जस्तो
अझै तर मान्छे बाँचेको छु
तिमीले म भित्र देखेको
भगवानको भ्रम तोड्नलाई ।

No comments: