सुन्दा छौं कर्णालीले डाँको छाड्यो रे

सुन्दा छौं
ठुलै डाँको छाड्यो रे
कर्णालीले काठ्माण्डुमा
आजकल त
काठ्माण्डौका मान्छेले
खोजी खोजी नक्सामा
कर्णाली हेर्दाछन् रे
ए हजुर !
हाम्ले कैले देखम्ला
नेपाल देश नक्सामा कस्तो देखिँदो हो ?
अझ भाउन्न छुटुञ्जेल देखेको
यो कर्णाली नक्सामा कस्तो देखिँदो हो ?
कठै ! भेँडी गोठ गा'कि मेरी छोरीले
किताबमा हाम्लाई
कर्णालीको नक्सा देखाउँदि हो त
हो हजुर यो जुनी हामी
पसिनानै डङ्डङ्ती गन्हाएपनि
गुनासो गर्ने थिनम
कर्णाली दख्खिनै बग्यो भनेर
सुन्दा छौं
काठ्माण्डौका चिया पसलमा
आजकल
कर्णालीकै बात मार्दाछन् रे
ए ! हजुर
चिया पसलको बातले
बग्ने कर्णालीलाई छेक्न कहाँ सक्लाउ र
अफसोस् यति हो कि
कर्णालीले हाम्रो तिर्खा धरी मेट्न सकेन
त्यसैले हजुर
कर्म बादुरको लास हिँजो
छोरीचेलीले उठाउनु पर्यो
काठ्माण्डुमा आएर
आँसु खसाएर कर्णालीले
'के तपाईँसँग कर्णालीको नक्सा छ ?' भनि सोध्दा
नढाँटी भन्नुस् त हजुर
क कस्ले छातीभित्र
कर्णालीको नक्सा खोज्नुभयो ?

No comments: