फेरी आकाश मुस्कुरायो

दैब जानुन
कतिञ्जेल लाग्ने हो घाम
बादलहरु हराएर
चम्किलो सुर्य हाँस्दै
आजभोली खुल्ने गर्दछ आकाश
बिहानीपख
पारीलो घाममा नाच्दै
समुह समुह छिर्बिरे पुतलीहरु
रंगीबिरंगी फूलहरु
संग मितेरी गाँस्छन
दिनभरी तिमी डुल्छौ
मनैभरी उमंग गाउंदै
त्यो सडक - त्यो सहर
दिनभरी म हिंड्छु
आँखैभरी सपना गाउंदै
त्यो टार - त्यो पाखा
साँझ संधै हामीले गाउंने
सपनाको मधुर लय समातेर
हामीले गाउंने उमंगको
पंखेटा फट्फटाउंदै
बथान बथान साना ठुला
चराहरु बिदा हुन्छन
एक अर्कामा
बुझ्नेहरु भन्छन
अर्को स्वर्गको कल्पना नगर
यो भन्दा सुन्दर
अर्को धर्ती कहिं छैन
हामी भन्दैछौं
धर्तीको यो स्वर्गलाई
अझै सुन्दर बनाउंदै जाउँ
समयले आकाशलाई सोध्यो
कहाँ गए आज
हिंजोका काला बादलहरु ?
आफैंमा सुन्य आकाश
जवाफमा हिंजो बिर्षिदिंदै
एक पटक फेरी मुस्कुरायो ।

No comments: