एक गह आँशु

पोखिएं धेरै पोखें आफुलाई घरीघरी
चुहिएर थोपा तप्तपी आफ्नै वरिपरी ।
डुबें आफैंभित्र कैले बनि दर्के झरी
कहिले बनें बाछिटा फाट्टफुट्ट गरी ।
बन्दै फुटें पानीफोका मनको छानोबाट झरी
बगीरहें मनको खोल्सै खोल्सा बलेंसीमा परी ।
टेकें पाईला त्यो मनमा यो मनको खोला तरी
नयाँ नौला खुशीहरु धेरै भेटने आशमा परी ।
चिरिए खुशीहरु परेर धाँजा चरचरी
चर्किएर खडेरीले सुकेको तलाउ सरी ।
झरे आँशु रित्तिउञ्जेल उहिबेला बरबरी
आजसम्म तर बाँचेको छु हजारौं मृत्यु मरी ।
अब मात्रै छ म संग एक गह आँशु प्यारी
पोखिदिउं कि सबै आजै राखौं मनैमा सारी ।

No comments: