तिमी जून आयौ

हटाई काला बादल सबै
मेरो जिन्दगीमा तिमी जुन आयौ ।
बनेर शुभ्र चन्द्रमा सरी
दिब्य ज्योतिले मलाई छुन आयौ ।। १
सुकेर नदी बगर हुँदा
रसाउंन घाँटी मरुद्यान आयौ ।
मेटेर श्राप शिरको सबै
मेरो जिन्दगीमा बरदान आयौ ।। २
बा बा फुटाई प्रथम बोली तोते
अलौकिक आनन्दले मन भरिदियौ ।
खित्खिताई मिठो त्यो अबोध हाँसो
कष्ट जीवनमा जति छन हरिदियौ ।। ३
फुलें खुशीमा फक्रिएर उमंग
अपूर्ब त्यो प्रेमले सिंचन गरिदियौ ।
टेकि हात पाउ चार बामे सर्दै
यो जीवनमा सुवास झन छरिदियौ ।। ४
उभिएर टेक्यौ पाईला पहिलो
माग्दै मेरो सहारा ।
बर्षियो मानौं बसन्त जीवनमा
भएं म हराभरा ।। ५
ताते भन्दै हिडाउंदा आँगनमा
साना हात समाती ।
चिन्यौ पूतली र फूल बसेर
डुलाउंदा काँधमाथी ।। ६
हिड्न थाल्यौ टुकुटुकु वरपर
उज्यालो पार्दै घर ।
दगुर्दै नौ रंगी पूतलीको पछि
नमानी केहि डर ।। ७
रोईदिंदा फुल्याउन तिमीलाई
बनें म घोडा हाथी ।
दियौ खुशी अनन्त तोते बोलेर
बनेर मेरो साथी ।। ८
सर्दैनन पाईला स्कूल जानलाई
त्यो झोला ठुलो बोकेर ।
सुंक्क सुंक्क गर्दै जानै पर्यो
आँखाभरी आँशुहरु रोकेर ।। ९
सुनाउन थाल्यौ मलाई कखहरा
सकेसम्मै लौ घोकेर ।
भन्थ्यौ भाँचियो ढाकिछोपी बदमाशी
पेन्सिल त्यो टोकेर ।। १०
साँवा अक्षर चिनाई तिमीलाई
आफु जिन्दगी म बुझ्दैछु ।
बटुलेर अकल्पनिय आनन्द म
पितृ स्नेहमा रुझ्दैछु ।। ११
फूलिरहोस मुस्कान तिम्रो अधरमा
यसैगरी हराएर जून तारालाई ।
लागीरहोस शुभाशिष तिम्रो शिरमा
हँसाउ तिमी आफु झैं जग सारालाई ।। १२
बाँचिरहनेछु म मेरो जीवन संधै
तिम्रो अधरको त्यही खुशीमा फूलेर ।
हाँसीरहनेछु म तिम्रै मुस्कान संधै
आफु भित्रको सबै छटपटी भुलेर ।। १३
शुक्लपक्षको चन्द्रमा उदाई
मेरो जिन्दगीमा तिमी जून आयौ ।
गाईरहनेछु म तिमीलाई
मेरो हृदयमा तिमी धून आयौ ।। १४

No comments: