फेरी यादमा रोएको छु

ईच्छाहरु धेरै थिए
संधै संधै संगै हाँस्ने
मृत्यु आए संगै मर्ने
जीवन भरी सँगै बांच्ने । १
खुशीहरु बाँडीचुंडी
दुख पिंडा संगै खप्ने
पिरतीको ईतिहासमा
यौटा अलग आयाम थप्ने । २
बसन्तमा उनि फूल्दा
म त हुन्थें उन्कै सुवास
शिशिरमा मुर्झाएको
कहाँ थ्यो र हाम्लाई आभाष ? ३
जीन्दगीको सावन भदौ
आँखाबाट संगै झार्यौं
चैते हुरी छेल्नलाई
मनको भित्ता संगै बार्यौं । ४
बिहानीको घाम जस्तै
न्यानो उन्को माया थियो
अकस्मात कुन दैबले
आज ग्रहण लाईदियो । ५
एकै बचन नसोधेर
उनी धेरै टाढा गईन
कस्लाई सोधुँ मैले हरे !
कसरी निष्ठुरी भईन ? ६
आज एक्लै बाँचेको छु
मृत्यु मेरो निश्चय छ
पर्खी बस्नु कतै भए
तिमीलाई भेट्ने ईच्छा जो छ । ७
पुकार कती गरुं यहाँ
सुनिदिने तिमी छैनौ
आँशु कती झारुँ यहाँ
पुछिदिने तिमि छैनौ । ८
तिमी नै त एक थियौ
सहारा भन्नु यो जीवनमा
बस्यौ केवल यो जीवनमा
याद बनि दुखी मनमा । ९
तिम्रो यादमै बाँचेको छु
बाँच्ने मनै कहाँ छ र ?
उखेलिएको बृक्षझैं छु
लिनु अब कस्को भर ? १०
अझै तिमी बाँचेकै छौ
चिच्याएर भन्छु तर
सत्य स्विकार गरेको छु
देखिकन रित्तो घर । ११
अश्रुधार यो बेदनाको
कठिन हुन्छ पिउँनलाई
अवशान भो यो मनको
कठिन भै गो जिउनलाई । १२
एक्लै बसी धेरै चोटी
मनलाई धोएको छु
आँखिर आज पनि तिम्रै
फेरी यादमा रोएको छु । १३

No comments: