आउ फेरी नाटक हेरौं

राजनीतिको रंगमञ्चमा
पुरानै कलाकारहरुको भेला छ
यता दर्शक दीर्घामा
नयाँपनको खुसीको मेला छ
फेरी नाटक मञ्चन हुनेछ अब
पहिलेझैं यसपाली फेरी
कथाको ढाँचामात्र फरक पर्न सक्छ
भाव उहि पुरानै भएको
यसपालीको नाटकमा पनि
निर्देशनको अभिभारा त्यसैलाई छ
जस्ले पर्दा पछाडीबाट
कलाकारहरुलाई सँधै
भुमिका विपरित अभिनय गराउंन सक्छ
त्यसैले आउ
यसपाली हामीपनि
नाटक हेर्न जाउँ
वरपर छरछिमेक
सबैलाई खै गर
कोचाकोच भरियोस दर्शक दीर्घा बरु
धक्कम्धक्कामै मरियोस नाटक हर्दै बरु
उभिएरै परैबाट भएपनि
यसपालीको नाटक सबैले हेर्नै पर्छ
सँधै जस्तो नाटक हेर्दा
यसपाली ताली बजाउन पर्ला नपर्ला
त्यसैले सबैलाई
आफुसंग यौटा
विरोध बोल्ने मुख लिएर आउन भन
किनभने
यसपालीको नाटकमा
ताली बजाउनुको साटो
गाली वर्षाउनु पर्ने हुन सक्छ
नाटक हेर्न उपस्थित हुने
सबैलाई यसपाली
कसिलो मुठ्ठी लिएर आउन भन
किनभने
यसपाली भत्काएर रंग मञ्चनै
नाटकको कथाबस्तु च्यातेर
सडकमा लगेर कुल्चंदै
सडकमै अर्को कथा लेख्नुपर्ने हुन सक्छ
त्यसैले आउ
हामी सबै नाटक हेर्न जाउँ ।

No comments: