आश्था

उनिहरुले जूनको गीत लेखेर गाएछन्
उज्यालो त उन्लाई पनि चाहिएकै रहेछ
फरक यतिमात्रै हो कि
उनिहरु अझै
जूनकै उज्यालोले
संसार हेर्न खोजिरहेछन
अब जूनको भर नपर भन्छु म
जूनको उज्यालो तिम्रो आश्था हुन सक्दैन
हरेक पल्टझैं जुनेलीलाई
फेरी औंशीको कालरात्रीले ढाकिदिनेछ
उता तिनीहरुले
खुशी खोज्न
पूतलीको गीत गाईरहेको बेला
उज्यालोको भ्रममा
जूनकिरीको पछाडी दौडीरहेछ्न
जूनकिरीको टिल्पिले उज्यालोमा
तिन्लेपनि कति संसार देख्न सक्छन र ?
त्यसैले आजै भनिदेउ तिन्लाई
जूनकिरीको उज्यालोलाई तिन्ले पनि
आफ्नो आश्था नबनाउन
जूनकिरीहरु त आफैं अँध्यारोमा हराएका छन
अर्काथरीहरु फेरी
उज्यालोकै खातिर अँध्यारो चिर्न
हात हातमा राँको बोकेर
सर्बत्र आगो सल्काईरहेछन
र आफु आफैं जलिरहेछन्
बत्तिको पुतली भएर
आगोलाई कसरी आश्था बनाउन सके तिन्ले ?
आस्था तिनको आफ्नै समाप्ति नबनोस
अबको आश्था भनेको
तिम्रो , मेरो र तिनीहरु सबैको
यौटै भएर हाम्रो हुनुपर्छ
हामी सबैले आफु आफुमा भएको
विवेकको उज्यालो जोडेर
सबैले एकै साथ संसार देख्ने गरि
यौटा महाप्रचुर उज्यालो बाल्नुपर्छ
अनि त्यसैको प्रचण्ड रापले गलाएर
हामीलाई ढाक्ने अँध्यारो ढाल्नुपर्छ ।

No comments: