र त म पागल

प्रत्येक पल्ट म
अँध्यारो कालो रात चिर्दै
जव पाईला बढाउंछु तिमीतिर
हतारिंदै भेट्न आतुर तिमीलाई
तानिएझैं कुनै चुम्बकिय पदार्थ
विशाल कुनै चुम्बक तर्फ
रात निदाउन लागेका फूलहरु
नजिकै झाडीबाट चिहाउछन
भन्छन , " ए! पागल तिम्रो होस कहाँ छ ? "
झस्किएर एकपल्ट म
आफ्नो होस खोज्दछु
जो छैन म संग
र त म पागल
मध्यरातमा पैदल धाउने तिमीसम्म
तिमी सागर
तिमी महासागर
अथाह प्रेम छातीभित्र लुकाएर
अँगालो खोली मुस्कुराउंदै
जव निम्तो दिन्छौ मलाई प्रणयको
रोक्नै नसकेर म
आफुलाई हिंडाईदिन्छु तिमीतिर
भन्छन कोहि बिचबाटोमा
म मर्दैछु डुबेर तिम्रो प्रेममा
अहो ! कस्तो अलौकिक वचन तिन्को
म मर्नै चाहन्छु डुबेर तिम्रो गहिरो प्रेममा
तिमी भन्छौ
प्रेममा कोहि मर्दैनन कहिल्यै
त्यसैले तिमी सक्दिनौ
डुबाउन मलाई त्यो गहिराईमा
म तिम्रो सामु
तिमी मेरो सामु
हाम्रो प्यास बालुवाले ब्यक्त गर्छ
मेरो खाली पाईतालामा
जव छुन्छौ तिमी मलाई
एक लहरले र पर भाग्छौ
उता बालुवा आफ्नो प्यास मेट्छ
यता तिम्रो स्पर्सको भोको म
फालहाल्छु तिम्रो अँगालोमा
र डुबुल्किन्छु तिम्रै असिम प्यारमा
जव किनारामा उभिएर
नियाँल्छु तिम्रो सौंदर्य
क्षितिज अँध्यारोमा अझै विलिन हुन्छ
मलाई देख्नेहरु भन्छन
उ त्याहाँ एउटा पागल उभिएको छ
कोहि सोध्छन , " तिमी होसमा त छौ ?"
फेरी झस्किएर म
आफ्नो होस खोज्दछु
जो छैन म संग
र त म पागल
मध्यरातमा तिम्रो अँगालोमा डुब्ने ।

No comments: