ए ! राजन् तिमी त मरी सक्यौ

ए ! राजन
तिमीले जितेकै कैले थियौ र ?
तिमीले त हारीसक्यौ
राजाहरुको जीत त
जनताको मन जितेर पो हुन्छ
तिमीले त जनताहरु माथि
सदियौं दमनको जाँतो चलाईरहयौ
र हामी राजाहरुले नै
सदियौं नेपाल र नेपालीहरु
जोगएर राखेका हौं भन्ने
भ्रमको घान हालीरहयौ
तर यो भ्रम त
तिमी भित्र पो थियो राजन
जोगाएका त तिमी राजाहरुलाई थिए
निर्धा सोझा जनताले
फेरी पनि तिमीले बद्लामा
निरँकुशताको ओखलमा हालिरहयौ
ति नै जनताहरुलाई
र अत्याचारको मुशल वर्षाईरहयौ
तिमीले ओखलमा कुटेका
अलग अलग जनताहरु
तिम्रै निर्मम पिसाईबाट
पिठो भएर आज एकजुट भएका छन
र उठेर एकै बोली बोल्दै
तिमीलाई हराएका छन
ए ! राजन ,
तिमीले हरेका मात्रै कहाँ हौ र ?
तिमी त मरीसक्यौ
राजाहरु जिउँदो त
जनताको मन भित्र बाँचेर पो हुन्छन
तिमीलाई त जनताहरुले
मुर्दा सम्झेर फालिसके मनभित्रबाट
अब ईतिहासले तिमीलाई
श्रीपेच पहिरिएको मुर्दा राजा
भनेर लेख्न मात्र बाँकी छ
यदि तिमी जिउँदो छौ भने
हे राजन ! कि त फुकाल श्रीपेच
र राखिदेउ सङ्राहलयमा
कि त निस्क बाहिर
म तिम्रै घर अगाडीको मुल बाटोमा
छाती खोलेर तिमीलाई मुर्दाबाद भन्दैछु
मेरो आवाज दबाउन सक्छौ भने
ठोक गोली मेरो छातीमा
म राजा मुर्दाबाद भन्दै
तिम्रै घर अगाडीको मुलबाटोमा
आफुलाई बलिदान दिएर
तथाकथित दरबारमार्ग भनिने
तिम्रो घर अगाडीको मूल बाटोलाई
बलिदान मार्ग बनाउन तैयार छु ।

No comments: