एल्बमको पानाभित्र एकदिन

एकदिन
हातभरी गुलाफको फूल बोकेर
पानी छोएर कसम खाँदै
तस्वीरबाट उस्ले मलाई हेरी
र भनि - " म मरेकी छैन
तिम्रो छाती भित्र मैले रोपेका
प्रत्येक गुलाफहरु
जब जब फुल्नेछ
र त्यसको सुबासले
तिम्रो परिवेश सुवासित हुनेछ
छामी हेर्नु त्यसबेला म
तिम्रो स्पन्दन बनेर
स्पन्दित भएकि हुनेछु । "
बिश्वास नभएर मैले
निर्मिमेश उस्लाई हेरें
हेरिरहें घण्टौं
निर्भिक उस्ले झिम्म नगरि
म सँग आँखा जुधाईरही
ठिक त्यसबेला
अलिकति पिंडाले
मेरो अन्तरमा घोचिदियो चस्सै !!
म उस्को पछ्यौरीमा घोप्टिएर
खोज्न थालें आफु भित्र
उस्ले रोपेका गुलाफहरु ।
नियाँल्दै जाँदा सौंदर्यहिन
प्रसस्तै गुलाफहरु
सुवासरहित भएर
मुर्झाउन लागेको पाएँ
अन्तत दुखित मलाई लाग्यो
सौंदर्य गुलाफमा नभएर
दृष्टीमा हुँदो रहेछ
र सुवास घ्राण शक्तिमा
जस्लाई गुमाएर मैले
यौटा रहस्य फेला पारें
कि 'गुलाफको सौंदर्य त भ्रम रहेछ'
अनि तत्कालै पल्टाई दिएँ
एल्बमको पानालाई ।

No comments: