यो माग हो : तपाईं कहाँ हुनुहुन्छ ?

मलाई मेरो मर्यादा देउ
संसार सामु मलाई नँग्याएर
के पाउनेछौ तिमी ?
मलाई मेरो मानसम्मान देउ
म यो देशको राजा हुँ ।

मलाई मेरो राजा देउ
राष्टिय एकताको प्रतिकलाई हटाएर
देश के जोगाउछौ तिमी ?
मलाई मेरो राजा राख्न देउ
म यो देशको बर्तमान सरकार हुँ ।

मलाई मेरो भगवान देउ
मेरो शिरबाट ईश्वरको हात हटाएर
म कसरी बहादुर सिपाही हुन सक्छु ?
मलाई मेरो देउता / राजाको छत्रछाँया देउ
म यो देशको सेना हुँ ।

मलाई मेरो भाग देउ
बखतमा तिमिलाई सघाएर
ठुलै बलिदान गरेको छु मैले
मलाई सत्ताको साझेदारी देउ
म यो देशको माओवादी शक्ति हुँ ।

मलाई नयाँ सरकार देउ
आठ बुँदे कार्यान्वयन गर्ने
सम्बिधान सभा गराउन सक्ने
मलाई सर्बपक्षिय अन्तरिम सरकार देउ
म यो देशको नागरिक समाज हुँ ।

मलाई मेरो कमिशन देउ
बर्षौं देखि खाँदै आएको
गैह्र कानुनि / अनैतिक भए पनि
मलाई घुस खाने छुट देउ
म यो देशको कर्मचारी हुँ ।

मलाई लोकतन्त्र / गणतन्त्र देउ
राजतन्त्र अहिलेनै उखेलेर फ्याँकि
दाईने बाँया कुरै नगरी
मलाई सिधै लोकतन्त्र / गणतन्त्र देउ
म यो देशको राजनैतिक चेतना भएको जनता हुँ ।

मलाई मेरो जीवन चल्न देउ
थोरै तिनै भए पनि
आफ्नो सम्पतिमा आफ्नो हिसाबले
खान , खर्चिन र रमाउन
मलाई मेरो जिन्दगी देउ
म यो देशको राजनैतिक चेतना नभएको जनता हुँ ।

मलाई मेरो परिचय देउ
यहि माटोमा बर्षौंदेखि बस्दै आए पनि
यता न उताको बनाईएको छु म
मलाई नागरिकको दर्जा देउ
म यो देशको नागरिकता बिहिन जनता हुँ ।

मलाई घर फर्कन देउ
आफ्नै आँगनमा
आफ्नो सँग नबसेको धेरै भैसक्यो
मलाई आफ्नो घर फर्कन देउ
म यो देशको द्वन्द्व / जनयुद्धले बिस्थापित जनता हुँ ।

मलाई टाउको लुकाउने झुप्रो देउ
बर्षौं अरुको निम्ति काम गर्दै आएको
आफु मुर्दा भएर अरुको निम्ति बाँचेको
मलाई आफ्नो निम्ति बाँच्न र बस्न देउ
म यो देशको घरबार बिहिन जनता / कमैया हुँ ।

यो माग हो
बर्तमानको नेपालको , नेपालीको
मेरो , तिम्रो , उस्को , त्यस्को
हामि सबैको माग हो यो
खोज्नुहोस तपाईं माग गर्ने क्रममा
आज कहाँ हुनुहुन्छ?

No comments: