यसरी हराउछन कविताहरु

आजभोलीका प्रत्येक रात
भाडाघरको साँघुरो भूंइतल्ले कोठामा
जब यौटा अभाव निदाउने कोसिश गर्छु
मनभरी उम्लिन थाल्छन
खरो बिद्रोहका लामा लामा कविताहरु
मानौं कि मनको कसौंडीमा
छड्किरहेछ कविताको भात
तातिएर खाली पेटको
चम्काहरुबाट निस्किएको आँचले
अँध्यारोमै छाम्छु
सिरानमुनिको खाली पन्ना
लेख्ने मन हुन्छ कविता
एक रातको भोक मेटाउनलाई
त्यतिखेर सुन्छु
पल्लो खाटमा धुसा फालेर खाटमुनी
बेफिक्रि सुतेको छ साथी
बत्ति बाल्लास् ? को खबर्दारी घुर्दै
अभाव पोल्दैन कि त्यसको छातीमा ?
देश दुख्दैन कि त्यसको मनमा ?
म किन निदाउन सक्दिन त्यहि कोठामा ?
मेरो मनमा आविष्कारको आँधी चल्छ
दुलहीको रातो टिका जस्तै निधारमा टाँस्दा
सबै सोचाईहरु लिपीबद्ध हुने
नयाँ यन्त्रको रुपरेखा कोरेर
पठाईदिन्छु नाशाका बैज्ञानिकहरुलाई
रातारात निर्माण हुन्छ मेरो आविष्कार
र उपलब्ध हुन्छ सर्बत्र बजारमा
तर निरिह, निर्धन म आफैंसंग
खरिद गर्ने क्षमता हुँदैन
अनि भोली उठेर लेख्ने संकल्प गर्दै
बिद्रोहको कवितालाई
बल्ल तल्ल निदाउछु म
बिहान उठेर हत्तार छाम्छु
खस्रा औंलाहरुले आफ्नो निधार
र फिस्स हाँसीदिन्छु आफैंलाई
नभेटेर आफु आविस्कृत यन्त्र
जब सम्झन्छु म
गए रातीको कविता बिद्रोहको
त्यहाँ सपनाले बिस्थापित गरीदिएर
मेरो कविताहरुलाई
अंगेरी र भातीपाते घारी
जूरेलीको गुँड
भत्किएको लालपैनी बाँध...
हरुको उपस्थिति हुन्छ
यसरी नै हरेक बिहान
हराउने गर्छन मेरा कविताहरु
मानौं कि मेरा कविताहरु
सानोमा संगै गोठालो गरेकी
सिरानघर कि कविता हो
जो आँखाभरी सुनबुट्टे सपनाहरु बोकेर
भर्खरै हराएकी छे रत्नपार्कतिर ।

No comments: