ओहोर दोहोर
दोहोरीलत्त
मेरो मनको मुलसडकमा
सजिएर अलौकिक श्रीँगारले
अझै पनि त हिंड्दछौ तिमी
तिम्रो पदको
पहिलो आहट सुनेर
मनको सडक किनाराभरी
रोपिदिएथें मैले
अनेकन मौसमी फूलहरु
र चाहेको थिएं
भुलाउन तिमीलाई त्यतै कतै
मेरो मनको बिसौनीमा
मग मग मनमोहक
सुवासहरु छरेर
अझै पनि त फूलेकै छन
थरी थरीका फूलहरु
सोचेको थिएं
कुनै दिन त तिमी
हिंड्दा हिंड्दै थाकेर
एक निश्वास छाड्दै
सुकाउन थकित पसिनाहरु
बिसाउने छौ
मेरो मनको फलैंचामा
अल्झिएर आशामा
बर्षौं त्यसै बितीसक्यो
हरेक आउने बर्षसँगै
प्रतिकुलता
बढ्दै जाँदा मौसममा
लोपोन्मुख भै रहेछन
एक एक आशाका
मौसमी फूलहरु
मक्किएर दिनदिनै
कलेजीका तख्ताहरु
भत्किँदो छ
मेरो मनको फलैंचा
अब त लाग्छ
लोभ्याउने छैन तिमीलाई
मेरो मनको फूलबारीले
जस्ले एक दिर्घ खडेरीको मारमा
आफ्नो सौँदर्य गुमाईसक्यो
न त बहन नै गर्नेछ
तिम्रो वजनलाई
मेरो मनको फलैंचाले
जस्ले एक दुष्ट धमीराको सारमा
आफ्नो अस्तित्व मेटाईसक्यो
बस् बाँकी छ अब
छताछुल्ल पोखिएको
गुनासो अनन्त
मेरो मनको अवयव भरी ।
No comments:
Post a Comment