गोली थापेर ढल्नेहरु

गोली जसरी थापेपनि
गोली थाप्नु चानचुने कुरा हैन
रमिते भएर थापुन्
चाहे रगत उमालेर थापुन्
गोली थाप्नेहरु
ईतिहासमा अंकित हुन्छन् ।

गोली जहाँ थापेपनि
गोली थापेर ढल्नु सजिलो छैन
भाग्दै पिठ्ठयुँमा थापुन
चाहे छाति खोलेर थापुन
गोली थापेर ढल्नेहरु
हरेकको मुटुमा झँक्रित हुन्छन ।

चुस्नेहरुले आमाको रगत
सिनित्तै पारेर चुसेको बेला
बलिदानि छोराहरु अघि सरेर
आफ्नो रगतले आमालाई
लछेप्रै भिजाउन तयार हुन्छन् ।

यस्तो बेलामा आगोको डरले
आफ्नो मात्रै धुरी जोगाउन
अँगेनोमा पानी हाल्नेहरु
आफ्नै आमाको मासु खाने
विवेक शुन्य पशु , अझै
त्यसमाथी पनि कायर हुन्छन् ।

सडकमा आगो भई बल्नेहरु
पत्पति धुवाँउदै बलुन्
चाहे ज्वाला दन्काउदै बलुन्
जसरी सुकै बलेपनि
आगो भएर बल्नेहरु
देशका सच्चा सिपाई हुन्छन् ।

छातीमा गोली थापेर ढल्नेहरु
भाग्दा भाग्दै ढलुन्
चाहे अगाडी बढ्दै ढलुन्
जसरी सुकै ढलेपनि
आमाको चरणमा ढल्नेहरु
देशका सच्चा सहिद हुन्छन् ।

1 comment:

Anonymous said...

i just try to send commente , i dont know it works or not