स्वागत छ तपाईंलाई मेरो कविता यात्रामा सहयात्री बन्न आउनुभएकोमा ।
___________--------------------________
....................मेरो कविता यात्रा...............
....................................................( एकसय एघार कविताहरु )

....................................दीपक जडित..................

________________---------------------------------------_________________


......................................समर्पण..................................

....... आफ्नो कुरा ...........................................मन्तब्यहरु.......

_________________-----------------------------_______________________

...................................कविता - क्रम.............................................

ए ! छोरा , आउ अब त फर्केर

यौटा रित्तो होर्डिङ बोर्ड : उज्यालो खोज्नेहरुको पर्याय

अबोध हत्केलामा शुभ प्रभात

मान्छे

भोली आउन बाँकी रहिरहयो

खबर्दार

आश्था

आउ फेरी नाटक हेरौं

गोली थापेर ढल्नेहरु

नखोज माया एकमा हुन्छ

म साँच्चै एक्लो भएछु

कोही सुनिदेउ मेरो पुकार

Me and my song

म भित्रको मेरो नेपाल

शब्दहरु अचेल

बाग्मतीको नियति ; गति नेपालको

उचाई

टाउको

खै मेरो घर ?

झुप्रो र नयाँ नेपालको खुशी

फूलको रंगलाई अब हेला नगर

जिन्दगी बाँच्न किन सकिंदैन ?

नयाँ वर्ष - १

नयाँ वर्ष - २

नयाँ वर्ष - ३

जिन्दगी सँग

भोलीको उज्यालो

रंग भित्रको रंगमा म

फागुन

नयाँ नेपालको सपना दुख्छु म

मेरो मृत्युको खबर

Tools in the box

यो सपना हाम्रो होस

It is not a short love

र त म पागल

तिहार

मैले दिएको मुक्ति

चन्द्र सुर्य झण्डा हाम्रो

निशब्द रोदन आमाको

दशैं , नेताज्यू र हामी

खहरे बाँधे पनि

फरक

लेखुँला भनेको कविता

ठिक पार्दै गर

जीवन र मन

ईन्द्रेणी , आमा र म : प्रश्नोत्तर

तिमी जून आयौ

एक गह आँसु

फेरी आकाश मुस्कुरायो

Contemplation

आगो , पानी र मान्छेहरु

The single ray of your love

आवाजका अक्षरहरु पढ्न फेरी आउनेछु म

तिम्रो कसम म यस्तै चाहन्छु

नेपालको माया छ कि छैन

One day into the photo album

जवानी

फूलको आवाज

Invite me not

विदाई

अस्तित्व

शुभकामना !!!

जीवन यात्राको सम्झनामा सम्झनाको यात्रासंग

आजका हामी युवाहरु

खै कुन्नि , के हो यो माया ?

तारा खसेको रातमा

आगो , मान्छे र म

सहनै नसके पछि

निश्प्राण वैलाएछ यौटा कोपिला र अर्को

कुन्नि कता गई

म मृत्युको गीत गाउँदै थिएं

फेरी यादमा रोएको छु

केहि त नयाँ उद्योग गरुँ

अनन्त गुनासो

रीत जिन्दगीको

आज फेरी जिन्दगी

एल्बमको पानाभित्र एकदिन

यो माग हो : तपाईं कहाँ हुनुहुन्छ ?

भत्सर्ना

आमा मैले दौरा सुरुवाल नलाउंदा के हुन्छ ?

Lamentation

धेरै पहिले , अस्ति भर्खरै र आज

म ज्ञानेन्द्र शाह

The paralysed dreams

जात्रै जात्रामा हराएको मेरो देश

Life : By Mind And Heart

ए ! राजन् तिमी त मरीसक्यौ

मेरी माया

यसरी हराउंछन कविताहरु

उ मेरो लागी मरेकी छैन

समर्पण

मेरो राष्ट्रियतालाई



र मेरी आमा समान ठुली मेरो मातृभूमीलाई ।

आफ्नो कुरा

मेरो कविता यात्रा : मेरो रहरहरु मध्येको यौटा रहर हो ।

म कविता संग्रह निकाल्ने ल्याकतको छु कि छैन त्यो भन्न सक्दिनं तर मैले लेखे मध्येका १११ वटा कविताहरुलाई ब्लग मार्फत एकैठाउँ भेला गर्ने अठोट गरें र लागिपरें । यो संख्या १११ नै मैले किन रोजेँको पछाडी कुनै कारण छैन तर मैले पहिले नै १११ वटै गीतहरुको अनलाईन संग्रह पस्किसकेको छु त्यस्तै १११ वटै गजलहरु राखेर गजलको पनि अनलाईन संग्रह बनाउने सोच बनाईसकेको छु । समयले साथ दिएसम्म ईच्छा लागेको कुरा गर्दै चैं जानेछु तर गरेको कामले अरुलाई कतिको प्रभाव पार्न सक्छु भन्ने कुरालाई भने समयकै अधिनमा छोडिदिनेछु । त्यसो त मैले केहिपनि लेख्दा म ठुलो कवि या लेखक हुँ भन्ने उध्येश्य राखेर लेखिनँ तर समय क्रममा लेख्दै जाँदा मैले लेखेको कुराहरु पढ्नेले मलाई पढ्न सकुन र मेरो विचारमा उठेका तरंगमा रम्न सकुन भन्ने होस भने अलि अलि राख्न थालेको छु ।

मेरो कविता यात्रा नाम दिएको यस संग्रहमा भने मैले अहिले आफुसंग भएका सबै कविताहरु , जे जति मैले कविता भनेर लेखेको थिएं र लेख्दैछु , लाई राखेको छु , त्यसो भएको कारण यस संग्रहभित्रका सबै कविता कविता नहोलान । कतिपत 'वि' हराएर 'कता?' भएका होलान त पतिपय 'क' नपुगेर 'विता' याने कि एक हातै हुनुपर्ने ठाउँमा एक बित्ता मात्रै , पनि भएका होलान । यस संग्रहमा मैले हरेक छुट्टै कवितालाई छुट्टै स्थानमा राखेर प्रत्येकमा प्रतिक्रिया लेख्न मिल्ने ढाँचा निकालेको छु र मुख्य पातोबाटै कविताको शिर्षक छानेर प्रवेश गर्न सक्ने प्रावधान पनि छ । यसो गर्ने मेरो सोचाईलाई पुरा गर्न सहयोग पुर्याउनुहुने ब्लगर मित्र दिलीप आचार्यजीलाई धन्यवाद नभनि रहन सक्दिनं म । त्यस्तै ब्लगकै माध्ययमबाट मेरो लेखाईमा उर्जा थपिदिनुहुने सम्पुर्ण ब्लगर मित्रहरु मध्ये मैले सम्झनु पर्ने केहि नामहरुमा कैलाश राई , आकार , वसन्त गौतम , उजेली , दिलीप आचार्य , जोतारे धाईवा , आरती लोहारुङ्ग सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । उल्लेखित ब्लगर साथीहरु ( केहि नाम छुटेका पनि होलान ) बाट पछिल्लो समयमा निरन्तर प्रतिक्रिया र सुझाव रुपि अति ठुलो हौसला पाएको छु मैले र वहाँहरुको आत्मियताको न्यानोपन अब केवल ब्लगमै मात्रै सिमित छैन , शुरु ब्लगबाट भएर ह्रदयभरी न्यानो बनाएर बस्नु भएको छ सबै जना ।

मलाई साहित्य लेखनतिर धकेल्नुहुने मेरो दाजु डेगेन्द्र कार्की र केराबारी दार्जिलिङ कि दिदी अनिता थापालाई पनि यहाँ म सम्झन चाहन्छु । त्यस्तै बिभिन्न विषयवस्तुहरुमा कमेण्ट लेख्ने क्रममा मैले माई संसारमा पनि कविताहरु लेखेको छु र पछि त्यसैलाई सुधारेर पुर्ण कविताको रुप पनि दिएको छु तसर्थ मैले यो यात्रामा सम्झँदा माई संसार टिमलाई पनि छुटाउनु हुँदैन , सम्झेको छु माई संसार टिमलाइ विशेष गरी उमेश श्रेष्ट र कृष्ण ढुँगानालाई त्यस्तै माई संसारमा गोलेदाईको कविता पढेर प्रतिक्रिया गर्नुहुने माई संसारका पाठकहरुलाई पनि सम्झन चाहन्छु , माई संसारका पाठकहरुको प्रतिनिधित्वमा मैले छुटाउन नहुने नाम हो 'लुना' जस्ले नेपाल गएको बेला मेरो कविताहरु खोज्न पुस्तक पसलहरु चाहारेको तर नपाएको गुनासो लेख्नुभएको थियो मलाई । त्यस्तै बिभिन्न वेब पत्रिकाहरु जस्तै नेपाली पोष्ट डटकम , एच के नेपाल डटकम , समुद्रपारी डटकम , तन्नेरी डटकम , नेपाली कविता डटकम ( दाई बिक्रम सुब्बा समेत ) , समकालिन साहित्य ( कृष्ण बजगाईं सहित ) लगायत लाई मेरा यस संग्रहभित्रका धेरै कविताहरु प्रकाशित गरिदिनुभएकोमा आभार प्रकट गर्दछु ।

यस संग्रहको बारेमा छोटो प्रतिक्रियाको अलावा अलि गहकिलो मन्तब्य लेखिदिने तपाईंको समय छ भने र लेखेर दिनुभयो भने त्यसलाई म मैले पाएको पुरस्कार सम्झेर मन्तब्यहरु भनेर छुट्याएको स्थानमा ठाउँ दिनेछु र अनुरोध पनि गर्दछु यदि तपाईंको अमुल्य समयबाट अलिकति मलाई छुट्याउन सक्नुहुन्छ भने आफ्नो विचार लेखिदिनुहोला । उता प्रतिक्रिया ( संग्रहकै बारेमा नभएर खास कवितामा ) त लेख्नुहुनेछ भन्ने घनघोर अपेक्षा छँदैछ । केहि कविताहरु अझै राख्न बाँकि भएकोले अझै त यो संग्रह अधुरै छ , मैले नेपालमा छाडेका कविताहरु ( कति संख्यामा छ थाहा छैन , मेरो अनुमानमा ४० / ५० को हाराहारीमा होलान् ।) पनि हात परेपछि यसैमा थप्ने विचार गरेको छु । यस संग्रहमा दुई प्रकारका गंभिर अशुद्दीहरु देखिन सक्लान । एक टाईप गर्दा भएका अशुद्दी र अर्को मैले नजानेर भएको ब्याकरण गत अथवा भाषागत अशुद्दी । दुबै अशुद्दीहरुको निंती म अहिले नै क्षमा माग्दै पछि जानेबुझे सम्म सुधार्दै ( पुन सच्च्याउंदै ) जानेछु ।

आफ्नो कुरामा के के भन्नु पर्छ मैले के के भनें ? यसको पनि लेखजोखा तपाईंहरुनै गर्नुहोस म त मेरो कविताको यात्रामा तपाईंले एक पाईला मात्र हालिदिनुभयो भने पनि खुशी हुनेछु ।

तपाईंको यो प्रवेश प्रति धन्यवाद सहित

दीपक जडित

मन्तब्यहरु

अहिलेसम्म कसैले पनि यस संग्रहको बारेमा मन्तब्य लेखेर दिनुभएको छैन । तपाईंले लेखिदिनुभयो भने यो स्थानमा तपाईंको मन्तब्य रहनेछ । ( अझै यो संग्रह अधुरै भएकोले मैले औपचारिक रुपमा कसैलाई अनुरोध पनि गरेको छैन । )

दीपक जडित

ए ! छोरा , आउ अब त फर्केर

थुन्यौ म निस्किने
सबै ढोकाहरु र बेखबर
टाढा गयौ
चिच्याएर पुकारें धेरै पटक
ए ! छोरा ,
आउ अब त फर्केर
खोल मेरो बाटो
बग्न देउ मेरो मातृत्वलाई
म सिंचेर तिमीलाई
अझै हुर्काउन सक्छु
बर्षौं देखि थुनिएकि म
नाक नाक सम्म डुबेर
ममताको दहमा
ऐँ ऐँ भएर बाँचेकि थिएं
मेरा सपनाको त के कुरा
म संगै
तिम्रा कयौं सपनाहरु थुनिएका थिए
म जस्तै
तिम्रा कयौं चाहनाहरु डुबेका थिए
मलाई थुनिराखेर
तिमी टाढै कतै अल्मलियौ कि ?
या हेला गरेर मलाई
सोधेनौ कहिल्यै
आमा कस्तो छ तिमीलाई ?
आँखै सामु तिम्रा पनि सपनाहरु
म जस्तै डुबिरहँदा
म रोईरहेँ छोरा
तिमीलाई नै सम्झेर
थपिईरह्यो मेरो आँसुको भल
ममताको दहमा
डर थियो कहिँ
नफुटुँ म अधैर्य भएर
रोकिरहेँ वर्षौं आफुलाई
तिमिले बन्द गरेको ढोकाभित्र
बाँधेर धैर्यताको बाँध
कतिञ्जेल थेग्न सक्थें र म
यो बेदना प्रसवझैं
र फुटें म आज
भत्किएँ सप्तकोशीमा
म भत्किउञ्जेल तिमी आएनौ
यतिखेर म बग्दैछु छोरा
तल तल
अझै तल
तिमीलाई सिंच्ने सामर्थ्यले
आज आफैं बग्दैछु म
र बगाउँदैछु तिम्रा पनि
बाँकी रहेका सपनाहरु
मलाई माफ गर मेरो छोरा
आउ फर्केर झट्ट
रोक यतिखेर मलाई
म आमा हुँ तिम्री
टाढा टाढा जान चाहन्न म
बगेर तिमीबाट ।

यौटा रित्तो होर्डिङ बोर्ड : उज्यालो खोज्नेहरुको पर्याय


म तिम्रो सहरमा ठड्याईएको
खाली होर्डिङ बोर्ड बाँचिरहेछु
आउँदा जाँदा तिमीले
संधै मलाई रित्तो देख्यौ
थकित तिम्रो मश्तिष्कले रित्तो देख्ने
आकास जस्तै म पनि रित्तो छैन
ताराहरुको झिलिमिली बगैंचामा
पुर्ण चन्द्रमा फुलाएझैं आकाशले
तिमी सक्छौ म भित्र भोली
तिम्रो सुन्दर भविश्य फुलाउन
म चुनौति बाँचेको छु तिमीलाई
के सक्छौ तिमी
अहिल्यै तिम्रा पौरखी हातहरु उठाउन ?
के सक्छौ तिमी
खाली खाली मेरो छातीभित्र उज्यालो लेख्न ?
सँधै उज्यालोको भ्रममा तिमी
म भरी रंगहरु जथाभावी पोतेर
परपरै मस्किँदै हिंड्छौ
आज हेर लौ
म तिमीले मनपरी पोतेको रंग धोएर
कुरुप बाँचेको छु
मेरो आफ्नै नियति हैन मैले बाँचेको
के बुझ्न सक्छौ मलाई ?
म प्रतिक बनाएर आफुलाई
तिम्रै नियति बाँचेको छु
आउ स्वागत छ तिमीलाई
एक अञ्जुली उज्यालो बोकेर
पोत मेरो मुहारमा
र मुस्कान छर तिमी आफ्नै ओठमा
मेरो खाली अनुहार
मेरो रित्तो शरिर
मेरो खुल्ला छाती
पर्याय हो
नयाँ युगको संघारमा उभिएर
एक अञ्जुली उज्यालो खोज्नेहरुको ।
[ माई संसारमा अनौपचारिक चुनौति स्विकारेर तस्विरमाथी लेखिएको कविता ]

अबोध हत्केलामा शुभ प्रभात



न सपनाको थुप्रो छ कतै
बोक्नु पर्ने
न चाहनाको पोकापन्तुरा
बिसाउनु पर्ने
सतह देख्न सकिने
सङ्लो पानी जस्तै
अबोध मुहारको मुस्कान
मान्छेहरुले कहाँ पढ्न सके खै ?
हत्केला फिँजाएर आँखा अगाडी
हस्तरेखा पढिरहेका मान्छेहरु
निचोरेर मानवताको मुटुकलेजो
हत्केला रंगाउन अभ्यस्त मान्छेहरु
आउ
आज यौटा अबोध हत्केलामा
मेहन्दीले खिचिएको
शुभ प्रभात पढेर जाउ
तिम्रा सबल हातहरुले
भोली यौटा अबोध मुहारमा
छचल्किने मुस्कान
सुम्सुम्याउन सक्छ कि ?
[माई संसारमा शनिबार साहित्य अन्तर्गत औपचारिक रुपमा शुरु भएको तस्विरमाथी कविता लेख्ने चुनौति अन्तर्गतको ब्लग पोष्टमा लेखिएको कविता । ]

मान्छे


राम हो या अल्ला
के बुद्ध बोल्ला ?
शिवको खरानी
मुड्की सिरानी
सानो यो धर्ती
किन भो बिरानी ?
न मान्छेले छोयो
मान्छेको घाउ
आउँदैन देवता
तेल्लाई के बोलाउँ ?
टेकी मान्छेकै
लौरि ट्याक्क ट्याक्क
पार्दैछ मान्छेकै
टाउको दुई फ्याक
खोतल टाउको
बन्दागोभी हो आउ
झिकेर गिदी त्यो
कुपुकुपु खाउ
भस्म बनाई
डढाएको गाउँ
पानीले हरे !
लगायो यो घाउ
बौलाहा भन
म बौलाएँ सहि
लछार्यौ तिमीले
के सज्जन भई ?
क्राईष्ट अल्ला
राम र बुद्ध
भनेर हामी
गर्दैछौं युद्ध
यो घाउ कस्को
यो गाउँ कस्को
फूल च्यातिदिने
यो दाउ कस्को ?
त्यो आँखा हेर
नुर झुकेको
देख्यौ के टाउकोमा
गिदी सुकेको ?
फूल छ त्याँहा
ओठमा हेर
देखिन्छ कलेँटी
तर ओईलाएर
मान्छे देख्दैन
मान्छे नजिकै
भगवान मान्छेलाई
प्यारो छ निकै
मान्छे मान्छे बिच
परेर चिरा
सहन्छ मान्छे
घाउ खटिरा
बनायो मान्छेले
औसधी मुलो
मान्छे नै घाउमा
दल्दैछ धुलो
मान्छेले गाउने
यौटा गीत बनोस
नहराई मान्छेलाई
मान्छेको जीत बनोस
मान्छे भित्रको
जब मान्छे मर्दैन
अर्को स्वर्ग मान्छेले
खोज्नु पर्दैन ।

भोली आउन बाँकी रहिरहयो


अचानक आज खस्यो
मनको ऐना
ठिक बिचमा हामी दुईको
तिमीले थाम्दा थाम्दै
मैले थाम्दा थाम्दै
त्यो क्षण
आकाश खसेन
त्यो क्षण
धर्ती फाटेन
प्रकृति
बगिरहिन
आफ्नै समय बेगमा
सलल सलल
र त्यो समय हिँजो भईरहयो ।

छरिएर भुईँभरी
फुटेको ऐनामा असंख्य
मैले तिमीलाई देखेँ
छरिएर भुईँभरी
फुटेको ऐनामा
असँख्य
तिमीले मलाई देख्यौ
आकृति
सँख्यामा
गुणात्मक बढ्यो
तर मन फुटेकै ठहरियो

मौनता उनिरहेछु
मेरै रित्तो मनमा
तिखो झिरले घोचेर
तिमी
मौनता उनिहेछौ
तिम्रै रित्तो मनमा
तिखो झिरले घोचेर
र त्यो समय हिँजो भईरहयो ।

आँखाहरु
एकै पटक रसाए
झर्न खोजे आँसुहरु
बाँध नाघेर परेलीको
तप्प ! तप्प !!
तिमीले
थाप्यौ हत्केला
आँशुको यात्रा अधुरै रहयो
मैले
थापेँ हत्केला
आँसुको यात्रा अधुरै रहयो
सायद भोली
रुन बाँकि छ अझै
तर भोली आउन बाँकी रहिरहयो ।

कामना सुख र शान्तीको गर्छु


आयु भन या जुनि अब चैं नश्वर देह यो खस्कँदो छ
आँखिर समयकै त हो खेल स्वप्न अझ यो पस्कँदो छ ।
लाग्छ आफैंलाई यो ईहलीला भएको छ अब बिसाउने बेला
छाडेर चेतना मुढो यो शरिर परब्रम्हमा मिसाउने बेला । । १

ज्यान रहुञ्जेल जवानी हुञ्जेल देखिएन कतै नि हरी
आज सर्वत्र देख्छु उनैलाई हो कि उनैको शरण परी ।
कपट , छल , जाल र *जुद्दे जे गर्नु लावण्य रहुञ्जेल हो
आँखिर खाली दुई हत्केला जोडी हुने त हरीसँगकै मेल हो ।। २

बन्द झनझन हुँदैछ दृष्टि जाँदैछन् सुकेर आँखाका पानी
गुन्छु मनमन हिँजो र आज लेखायो समयले के के कहानी ।
भोगियो डर र त्रासका माझ पोखिएझैं चुक अँध्यारो कालो
देखियो मेघमा बिजुली परेझैं छिनभरको झिलिक्क उज्यालो ।। ३

बलोस् भन्दछु उज्यालो अनन्त देखुन् लोकले हिंड्ने बाटो
गरुन् सबले प्राणझैं प्रेम नरोओस् एक्लिएर यो माटो ।
टेकेर माटो धानुञ्जेल ज्यान हुँदैन केहि माटो भन्दा माथी
देहले माटो छोडेर गए नि आँखिर यहि माटै हुन्छ साथी ।। ४

सपना फूलेको देख्ने छ रहर बस्ती बस्ती यि पाखाहरुमा
भय हटेर हर्ष नाचेको मेरा सन्ततीका आँखाहरुमा ।
निभ्नेछ तेल बिनाको दीप छिट्टै मेरो यो आँखाको कान्ति
कामना तर गर्दछु यौटै फैलियोस सर्वत्र सुख र शान्ती । । ५

* जुद्दे - युद्ध ( तस्विरका हजुरबाहरुले 'य' लाई 'ज' उच्चारण गर्नुहुने भएकोले )

यो खुशीको कुरा हैन र ?

छुट्टीएर रहरको सयपत्रीबाट
केहि पत्रहरु
बिचल्नी परेर कतै
तिम्रो कविताका अक्षरहरुमा
खक्रक्क सुकेर टाँसीएको पाउँछु आफुलाई
लाग्छ
यौटा पत्र छुट्टिँदा सयपत्रीबाट
सँगै बीज पनि आएको हुँदा
उमारेँ कि बेमौसमी सयपत्री
कोथा लागेँ कि शिशिरमा
हाँस्नलाई हो हाँस्नलाई
कविताका अक्षरहरुमा
तुसारो सहेर
लौ भन अब तिमी नै
के यो खुशीको कुरा हैन र ?

कामना तिहारको


उज्यालो यो तिहार राम्रो फूलहरुले पार्यो
झिलीमिली बत्ति सामु औँशीले नि हार्यो ।
बारी , कान्ला जताततै सयपत्री फूले जति
केतकी र मखमली पनि मुस्कुराए उति ।
दैलो , झ्याल , आँगन , गोठ लहर फूलकै माला
फूलैसरी फूलाई चेहरा रमाए लालाबाला ।
पूजित पञ्छि पशु समेत उमँगमा मस्त ति
जनले फाले मैलोकालो मनभित्र थिए जति ।
तिहारले सद्भावको मिठो पाठ छाडेर जान्छ
सँधै मनन गरे त्यसैले समाज अगाडी लान्छ ।
मनाउँ पर्व सबै स्वार्थ भन्दा माथी उठेर
डोहोर्याउँदै उन्नतीतर्फ समाजलाई जुटेर ।
कामना छ सबका हातमा बसुन् लक्ष्मी देवि
ह्रदयमा चैं बसुन् सबैका प्यारा लक्ष्मी कवि ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको शतवार्षिकीको अवशरमा उनै महाकवि प्रति समर्पित

झरी थामिएकै छैन

कस्ले गन्यो
यो समयलाई गणितमा ?
घडी घडी, पला पला
दिन , हफ्ता , महिना , वर्ष
र गाह्रो भयो आज काट्न यो समय
फगत अँध्यारो सिङ्गै युग झैं ।
झ्याल बाहिर दृश्यमा पर
द्रुतगतिमा रेल आएर गएझैं
खुशी किन मनपरी खेल्छ जिन्दगीमा ?
मन खोलेर एक खित्का हाँस्न नभ्याई
त्यही मन किन तरक्क आँसु चुहाउँछ ?
घाम कहिल्यै नलागेको भए
बादल र झरीको चिन्ता
के हुन्थ्यो होला र जिन्दगीमा ?
झरी कहिल्यै नपरेको भए नि
घामको पिर आँखामा
बोक्नेथियो र जिन्दगीले ?
पटक पटक सोधें मैले
कस्ले गन्यो
यो समयलाई गणितमा ?
र म अलपत्र हराएं सडकमा
मात्रै मन गुडीरहयो
सलल मोटरगाडीहरु झैं ।
उखेलेर मयुर पङ्खहरु
बाट्बाटै छर्दै हिंड्न मन लागेको छ आज
जसो मन लाग्यो नाचेर
आफ्नै ताण्डव हेर्न मन लागेको छ आज
आँखिर नियम केहि नै त छैन रहेछ जिन्दगीको
खालीखाली हुनलाई चउरमा
डङ्ग्रङ्ग उत्तानो लडेर
खुल्ला आकाश हेर्दा पनि
किन झिलिमिली ताराहरुसंग
उज्यालो चन्द्रमा आउने गर्छ मनमश्तिष्क भरी ?
यो विधी प्रश्नहरुको घुँएत्रो हानि
आफैंलाई पर कतै खसाल्न मन लागेको छ आज
फेरी आफुले कहिल्यै नभेट्ने गरेर
बेतालकै ढुँगाहरुको तिन चम्को बनाई
आगो बालेर आफैंलाई बसाल्न मन लागेको छ आज
फेरी आफु कहिल्यै नकचल्टिने गरेर
कोसौंकोस राजमार्ग भत्किएर
यौटै मन वारीपारी खण्ड खण्ड छुट्टिंदा
आँखिर पानीकै असर भनेको छु मैले
चाहे त्यो आकाशबाट मुशलधारे बर्षिएको होस्
या बर्षिएको होस् अविरल आँखाबाट
राजमार्ग त ठप्पै छ
म अवरुद्ध छु पारी नै
र झरी थामिएकै छैन ।

एउटा टुक्रा कागज

एउटा टुक्रा कागज
धेरै अघिदेखि म
कोर्दै मेट्दै कोर्दै मेट्दै
थोत्रे पारिरहेथेँ
गज्याँङ्ग मज्याँङ्ग अक्षरहरुको
केरमेट केरमेट चित्र कोर्दै
कागजमा खुरुखुरु
मैलाई सारिरहेथें
लाग्थ्यो
मान्छेले यस्लाई बुझ्न नसक्लान्
त्यसैले हो क्यार
हुर्याईदियौ तिमीले
त्यो चिर्कटो पढ्न नसकेर
र भुईँमा म यतिखेर
त्यही टुक्रा कागज दुखेको छु ।

हेर यस्तै छु म

तिन्ले भने -
सालिग्राम जिउँन सक्छु रे म
खँदिलो भएर सिङ्गै युग
ए साथी !
साह्रै हलुङ्गो पो छु म त
सिमलको भुवा झैं
प्रत्येक बैशाखे बतासमा उड्दछु म
र उम्रिन्छु धर्तीभरी
विरुवा आशाको हुर्किएर
अर्कोसाल फेरी उड्नलाई ।
तिनले भने -
सतिसाल उभिन सक्छु रे म
ठिङ्ग भएर यौटा युग
ए साथी !
साह्रै कफलो पो छु म त
कदमको बोट झैं
प्रत्येक जेठको हुरीमा भाँचिन्छु म
र पलाउँछु सालभरी
ठुल्ठुला आशाको पात हालेर
अर्कोसाल फेरी भाँच्चिनलाई ।
तिन्ले भने -
हिमनदी हिंड्न सक्छु रे म
शान्त भएर यौटा जुनी
ए साथी !
साह्रै अधैर्य पो छु म त
खहरेको बाढि झैं
प्रत्येक असारे भेलमा उर्लिन्छु म
र बिलाउँछु सागरभरी
बाफिँदै आशाको बादल बनेर
अर्कोसाल फेरी उर्लिनलाई ।
अब बुझाईरहनु नपर्ला
बाह्रै महिनाको हिसाब तिमिलाई मैले
कुन पत्थरले बनेको देव ठान्यौ कुन्नि
मान्छे हुनुको प्रमाण जुटाउन सकिंन
म दुखेँ तर रुन जानिँन
म फूलेँ तर हाँस्न सकिँन
हेर यस्तै छु म
न तिन्ले भनेको जस्तो
न तिमीले ठानेको जस्तो
अझै तर मान्छे बाँचेको छु
तिमीले म भित्र देखेको
भगवानको भ्रम तोड्नलाई ।

सुन्दा छौं कर्णालीले डाँको छाड्यो रे

सुन्दा छौं
ठुलै डाँको छाड्यो रे
कर्णालीले काठ्माण्डुमा
आजकल त
काठ्माण्डौका मान्छेले
खोजी खोजी नक्सामा
कर्णाली हेर्दाछन् रे
ए हजुर !
हाम्ले कैले देखम्ला
नेपाल देश नक्सामा कस्तो देखिँदो हो ?
अझ भाउन्न छुटुञ्जेल देखेको
यो कर्णाली नक्सामा कस्तो देखिँदो हो ?
कठै ! भेँडी गोठ गा'कि मेरी छोरीले
किताबमा हाम्लाई
कर्णालीको नक्सा देखाउँदि हो त
हो हजुर यो जुनी हामी
पसिनानै डङ्डङ्ती गन्हाएपनि
गुनासो गर्ने थिनम
कर्णाली दख्खिनै बग्यो भनेर
सुन्दा छौं
काठ्माण्डौका चिया पसलमा
आजकल
कर्णालीकै बात मार्दाछन् रे
ए ! हजुर
चिया पसलको बातले
बग्ने कर्णालीलाई छेक्न कहाँ सक्लाउ र
अफसोस् यति हो कि
कर्णालीले हाम्रो तिर्खा धरी मेट्न सकेन
त्यसैले हजुर
कर्म बादुरको लास हिँजो
छोरीचेलीले उठाउनु पर्यो
काठ्माण्डुमा आएर
आँसु खसाएर कर्णालीले
'के तपाईँसँग कर्णालीको नक्सा छ ?' भनि सोध्दा
नढाँटी भन्नुस् त हजुर
क कस्ले छातीभित्र
कर्णालीको नक्सा खोज्नुभयो ?

म दीपक र दीपकहरु

म दीपक
तिमीले जलायौ
र जल्दैछु शनै: शनै:
रित्याउँदै आफुलाई
दियालोको तेल जस्तै
छोडेर केहि उज्यालो तिमीलाई
हेर
मेरा ईच्छाहरुको पच्छ्यौरी
लहराएको छु धुँवासँगै
तरँग फैलाउँदै किरणहरुको
मेटीरहेछु
आफुलाई पल पल
यौटै उज्यालो सत्यको खातिर
सत्य - यहि उज्यालो
जहाँ मैले जलाएर आफुलाई
तिम्रो दृश्यमा
पवित्र निर्मल सोचको
सुन्दर सानो सँसार
पारिरहेको छु
सत्य - यहि उज्यालो
जहाँ मैले रित्याएर आफुलाई
विलिन हुनेछु अँध्यारोमा
छोपिनेछ मेरो निँती
सानो सुन्दर संसार
जव म निभ्नेछु
दियालोमा तेल सकिएर
त्यसैले आउ
यहि उज्यालोमा अहिले नै
जलाईराख दीपक तिमीभित्रको
र छोड प्रेरणा उज्यालोको
ता कि
प्रकाश छर्दै सुन्दर संसारमा
जलिरहुन् हरदम
लाखौं लाख दीपकहरु ।

टाँगियोस् रँगीन सपना त्याँहा

आकाश खुल्दै गयो हेर
फाट्दै गए बादल घनघोर ति ।
जागे श्रमिकहरु सखारै
जुटे निर्माणमा झनजोर ति ।।
निर्माण होस् आकाश नयाँ
ति हातहरुको परिश्रमले ।
लेखियोस् विहानी नयाँ युगको
फैलियोस् उज्यालो क्रमैक्रमले ।।
विना श्रम छैन सम्भव उन्नति
पसिनालाई पुजा गरोस् लोकले ।
नरोकिउन् कर्मठ हात ठेलासरीका
क्षुधाग्नी सल्काएर पेटमा भोकले ।।
मेटियोस् कल्पना समेत तिनको
ज जस्ले बुनेका छन् झेलजालको ।
टाँगियोस् सपना तिनकै रंगीन त्याँहा
ज जस्को छ कामना नयाँ नेपालको ।।

बुद्ध बोल्दैछ

सुन् ए , ईश्वर !
कस्तो भ्रम फैलाईछस् तैंले
आजपनि मान्छेहरु नाघेर मान्छेहरुलाई
दौडिरहेछन् तँलाई भेट्न
म सम्झन्छु त्यो दिन अझै
भनेको थिएँ मैले
'प्राणीहरु माझ रहने
प्रेम नै एक मात्र धर्म हो । '
चाहन्थेँ म
ननाघुन् मान्छेहरु मान्छेलाई
लुकाएर प्रेम छातिभित्र
म सम्झन्छु त्यो दिन अझै
सुनेर मान्छेहरुले मलाई
उडाएका थिए परेवा शान्तीको
यत्र तत्र आकाशमा
सुन् ए , ईश्वर !
कस्तो भ्रम फैलाईछस् तैँले
जो मैले तोड्न सकिनछु
र पत्थर बनेर
तेरै दलिनमा खडा छु आज
म सम्झन्छु त्यो दिन अझै
मान्छेहरुलाई मैले
मान्छेहरुकै अर्चना गर्दै
मान्छे बनेर बाँच्नु भनेथेँ
तर मान्छेहरुले
चोक चोकमा ठड्याएर मेरै मुर्ति
भन्न थाले , 'उ त ईश्वर हो ।'
सुन् ए , ईश्वर !
सकिनँ मैले कसैगरी
मान्छेहरुको यो भ्रम तोड्न
तोडिदे यो भ्रम तैँले नै आज
म चाहन्न
फेरी मान्छेहरु कुनै चोक
मामुर्ति बनेर ठडिउन् ।

दशैंको भेंडा , भगवान र म मान्छे

सँधै सँधै
आँखामा
मृत्युको त्रासदी बोकेर
निरिह भेडाहरुमेरो टोलसम्म आईपुगे
चुपचाप चुपचाप
गर्धनमा खुकुरीको छप्को महसुस गर्दै
अज्ञानी भेडा
मेरो आँगनसम्म आईपुगे
बोलेनन
उनिहरु एक शब्द बिद्रोहको
लेखेन
उसले कविता आफ्नै मृत्युको
मैले
आँगनमा भगवान डाकेँ

शक्तिको पूजा गर्दैछु भनेर
भेडा
पर्सिएँ भगवानकै मुखेञ्जी
भेडाझैं
भगवान वाल्ल परिरहे
टोलाएर
उत्तर आधुनिक समयमा
भगवानको
बोली ठ्याप्पै हराईसकेर
विचलित विचलित
भगवान डराए म मान्छेदेखि

टुल्टुल्ती
हेरिमात्रै रहे
भगवान सामु
जब मैले खुँडा उठाएं
भेडा भगवान भएर बोल्यो ,
'हे ! मनुश्य
तिमी आफ्ना सामर्थ्यले
भगवानलाई
वशमा पार्न सक्छौ
तर म
आज मुक्त हुँदैछु
तिमी मान्छेहरुको कु-कृत्यबाट
आईन्दा म
मान्छेहरुबाट पशु भनिन्न
तर तिमी पशुहरु
सँधै मान्छे नै रहनेछौ
खुँडा चल्यो
भगवानलाई मैले
रगतको लोभ देखाएँ
भगवानले तर
मेरो लोभ देखे
र रगतको एक एक सिर्का
मेरै लागी छाडेर
भगवान लुरुलुरु फर्किए
मेरो टोलसम्म ल्याईएको भेडा झैं
मेरो आँगनसम्म घिच्याईएको भेडा झैं
चुपचाप चुपचाप
र म मान्छे
भगवानको पर्वाह नगरी
दशैंमा ब्यस्त भएं ।